पोखरा । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ ।
भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नेछन् ।
कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिए ।
गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गरे । उनले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उनको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताए । पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताए ।
त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोलेका थिए । मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







