सुरु भयो बोलबम


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित




हिँजो साउनको पहिलो सोमबार। साउन महिनाको अर्को महत्व हो बोलबम काँवरिया।

निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ।

साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको हो। काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्।

साउनको पहिलो सोमबार हिँजो केदारेश्वर महादेवमणि बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण गरेको छ। बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरेको थियो।

‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने नारा सहित हरेक साउन महिनाको सोमबार पोखरामा पनि बोलबम पदयात्रा हुने गरेको छ। २० वर्षदेखि निरन्तर चलेको बोलबम जलयात्रा कोभिड १९ का कारण विगत २ वर्षयता हुन सकेको थिएन।

जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकीको प्रस्तुती थियो। बोलबम धाममा मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधानादेखि विशिष्ट विद्वानबाट धार्मिक प्रवचन गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।