बलेवा । बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ ।असारको अन्तिम सातायता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइँ गरेका अमलाचौरकै गेश्वर घिमिरेले पनि अझै पाँच÷सात दिन रोपाइँ गुर्नपर्ने छ ।
खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् । मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्न थालेका छन् । जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन ।
वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् । कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ ।
जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







