सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित





परासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी थालिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले राससलाई जानकारी दिए ।

जिल्लामै मिर्गौला डायलाइसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो। सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मिर्गौलापीडित बिरामीले सेवा पाउने छन् । करिब रु पाँच करोडको लागतमा स्थापना हुने उक्त केन्द्रमा दैनिक बीस बिरामीको नियमित डायलाइसिस गरिने र बिरामीको चाप बढ्दै गए सेवा सुविधा पनि विस्तार गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

उनका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ बिरामी नियमित डायलाइसिसका लागि बुटवलको मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा सञ्चालन गर्न लागिएको होे । सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । मिर्गौलापीडित रेकबहादुर गुरुङ्ले जिल्लामै सेवा केन्द्र स्थापना हुनु खुसीको कुरा भएको र अब टाढा जान नपर्ने भएकोले राहत हुने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।