बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरूप हुनेगरी राखिएका विज्ञापनका होर्डिङ बोर्ड हटाउन शुरू गरेको छ।
जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुंगा र कालिका भगवती मन्दिर वरपर राखिएका होर्डिङ बोर्ड हटाउन शुरू गरिएको हो।
नगरपालिकाले शहरको सुन्दरताका लागि भन्दै त्यस्ता होर्डिङ बोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताएका छन्।
उनकै संयोजकत्वमा बनेको ‘विज्ञापन होर्डिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुंगामा रहेका बोर्ड हटाउन शुरू गरेको हो। यहाँबाट हटाइएका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने वडाध्यक्ष केसीले बताए। सार्वजनिक जग्गामा रहेका बोर्ड नगरपालिका आफैले हटाएको र व्यक्तिगत जग्गामा भएका बोर्ड हटाउन पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा ७ दिनको म्याद दिइएको छ।
‘हामीले जग्गाधनी र बोर्डधनी दुवैलाई जानकारी गराएका छौँ, केहीले सकारात्मक हिसाबले हटाउनुभयो, बाँकी केही हट्दै छन्,’ उनले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय भएरै यो काम भइरहेको छ।’
प्रवेशद्वारमा रहेका होटल, रेष्टुराँ, बैंक तथा वित्तीय संस्था, विभिन्न कम्पनी र सामाजिक संघसंस्थाले राखेका स्वागत बोर्डसमेत हटाउन लागिएको छ।
‘अब ४ वटा ठूला बोर्ड व्यक्तिका जग्गामा बाँकी छन्, उहाँहरुले ७ दिनभित्र आफै हटाउँछौँ भन्नुभएको छ,’ वडाध्यक्ष केसीले भने, ‘तोकिएको समयभित्र नहटाए हामी हटाउँछौँ।’
मालढुंगामा बागलुङको परिचय झल्किने गरी डिजिटल बोर्ड राख्ने योजना रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपालिकाले जिल्लाका पर्यटकीय क्षेत्र, यहाँका कला संस्कृति र भूगोलको विषयमा जानकारी समेटेर डिजिटल बोर्ड राख्ने योजना बनाएको छ।
बागलुङ कालिका भगवती मन्दिरको प्रवेशद्वार आसपासमा रहेका बोर्डसमेत नगरपालिकाले हटाउन भनेको छ। प्रसिद्ध कालिका मन्दिरको मौलिकता हराउनेगरी विज्ञापन बोर्ड राखिएको भन्दै नगरले हटाउन भनेको हो।
‘बागलुङ आउने पर्यटकको लागि पहिल्यै नकारात्मक प्रभाव पर्ने भो, त्यसैले विज्ञापन बोर्ड हटाउने भनेका हौँ,’ उनले भने, ‘अब त्यहीँ ठाउँबाट बागलुङको चिनारी दिने योजना छ।’
बोर्ड हटाइएको विषयमा जिल्लाका व्यवसायीले भने आपत्ति व्यक्त गरेका छन्। बिना जानकारी व्यक्तिको सम्पत्ति नगरपालिकाले जबर्जस्त क्षति पु¥याएको उनीहरूको आरोप छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







