मध्यबर्खामा कालीगण्डकी दोहन


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित





गलकोट । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहेको पाइएको छ । मङ्गलबार दिउँसो १२ बजे बागलुङ नगरपालिका–४ स्थित फोस्रेखोला पारि जलजला गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिरहेको थिए । सर्वोच्च अदालतको आदेशपछि म्याग्दी, बागलुङ र पर्वत खण्डको क्षेत्रमा नदी उत्खननका लागि स्थानीय तहले ठेक्का लगाउन सकेका छैनन् ।

अदालतले कालीगण्डकी नदी दोहन रोक्ने आदेशपछि यहाँका क्रसर व्यवसायीले रातमा र सरोकारवालालाई प्रभावमा पारेर दिउँसै नदीजन्य पदार्थ उत्खनन गरेको पाइन्छ । नदी दोहन रोक्नका लागि कालीगण्डकी सभ्याता बचाउन अभियानमा युवाहरुको सक्रिय भूमिका रहँदै आए पनि सरोकारवाला निकायहरुको मौनताको कारण दोहनले प्रश्रय पाइरहेको अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए । नागरिकस्तरबाटै दोहनको विरुद्धमा उठ्न जरुरी रहेको कालीगण्डकी बचाऔँ अभियानका संयोजक तथा वातावरण पत्रकार आरके आदिप्त गिरीले बताए ।

सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई बचाउनुपर्ने उनको भनाइ रहेको छ ।गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि त्यो पालना हुन सकेको छैन । ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधि, २०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तर उत्खनन गर्दा डोजर, स्काभेटर, लोडर जस्ता भारी उपकरण प्रयोग गर्न नपाइने उल्लेख छ ।

अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिमका मेसिन र औजार मात्र प्रयोग गर्नुपर्नेछ । कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकारवाला निकायले कुनै चासो नदिएको नागरिकको गुनासो छ । नियम विपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरहरुसमेत उच्च जोखिममा पर्न थालेका छन् । पर्वत जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले नदीजन्य पदार्थ उत्खननको अनुगमनका निमित्त छुट्टै प्रहरी परिचालन गरिएको बताउछन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।