काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताए । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताए ।
विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उनले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए ।सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए ।
गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उनले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए । रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उनले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताए । महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताए ।
सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नवलविक्रम थापाले अहिले भइरहेको धावनमार्गमा ३२२ मिटर विस्तार गरी एक हजार ५०० मिटर पु¥याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुनसक्ने बताए । राति पनि सञ्चालन गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ । हाल भरतपुर विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । सन् १९६१ मा यो विमानस्थल स्थापना भएको हो ।
विमानस्थल ५८ बिघा जमिनमा फैलिएको छ । वरपर घर बनेकाले यो विमानस्थललाई जोखिमका हिसाबले तराईको लुक्का भनेर चिन्ने गरिन्छ । धावनमार्ग छोटो हुँदा ३७ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४२ जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ । भरतपुर महानगरपालिकाले हालसम्म विमानस्थल विस्तारका लागि गरेका प्रयासका बारेमा महानगरका उपसचिव महेन्द्र पौडेलले जानकारी गराएका थिए ।
महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन केन्द्रका लागि भरतपुर–११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको छ । यसैगरी आजै मन्त्री श्रेष्ठको उपस्थितिमा महानगरपालिकामा बसेको बैठकले विमानस्थल विस्तारका लागि प्राविधिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।
समितिको सदस्यमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलविक्रम थापा रहेको समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिने निर्णय भएको महानगर प्रमुख दाहालले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







