स्वतन्त्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरुको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ।

भेलाले संगठन सुदृढ तथा विस्तार गर्ने लगायत पत्रकारहरुका हकहितका विषयमा विभिन्न निर्णय गरेको संघका महासचिव महेशविक्रम कुँवरले जानकारी दिएका छन्।

भेलाको उद्घटान संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरे। त्यस अवसरमा अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारिता गर्ने मात्र पत्रकार हुने बताउँदै पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्न नसक्ने बताए।

‘सत्य तथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनैपर्छ,’ उनले भने, ‘पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेशा छाडेर राजनीतिक संगठनमा आबद्ध हुनेले भोली पश्चाताप गर्नुपर्ने दिन आउन सक्छ।’

कतिपय अवस्थामा छद्मभेषीहरुलाई पनि पत्रकार भन्ने गरिदाँ पत्रकारको गरिमामा आँच पुगेको पनि बास्तोलाले उल्लेख गरे।

संघका उपमहासचिव सुरेश श्रेष्ठले संस्थालाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने बताए। संघका २९ जिल्ला शाखा र राष्ट्रिय समितिका सहित ७५ जना पत्रकारहरुको सहभागिता रहेको भेलामा विभिन्न सुझावहरु दिएको थियो।

भेलामा संघको कास्की शाखाका अध्यक्ष असफल गौतम, काठमाडौं शाखाका अध्यक्ष पुष्करराज पाण्डे, तनहुँ शाखाका अध्यक्ष सुरेश सुनार, ललितपुरका अध्यक्ष उपेश नौबाग, मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, पाल्पा शाखाका अध्यक्ष भोजराज भट्टराई, अछामका विष्णुबहादुर खड्कालगायतले आ–आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।