बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित





मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे ।

मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरुले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए ।

३४ हैजाका बिरामी

मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले बताए । दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु¥याउन जरुरी रहेको गेलालले जानकारी गराए । 

हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था

मङ्कीपक्स विदेशी ७० मुलुकमा फैलिँदै गइरहेकाले मुलुकको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए । मङ्कीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।