मनाङको नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिँदै


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




मनाङको नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ ।

गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो ।

नार्पाभूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिए । उनका अनुसार ३ स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ ।

मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरूप त्रिमूर्ति निर्माण गर्न लागेको उनले बताए । तीन स्थानमा त्रिमूर्ति निर्माणका लागि गाउँपालिकाले रु २० लाखका दरले बजेट विनियोजन गरेको उनको भनाई थियो । बौद्ध धर्मावलम्बीको संस्कार र संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरूप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ ।

उनीहरूको धार्मिक कार्यका लागि टाढाका बौद्ध गुम्बासम्म पुग्नुपर्ने भएकाले त्यसलाई सहज बनाइनाका साथै संरक्षण गर्न पनि प्रोत्साहन मिल्नेछ । उनीहरूले इच्छाएको स्थानमा गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति बन्ने भएपछि उक्त क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । मूर्ति निर्माणले संस्कृति संरक्षणमा चासो दिएको भन्दै स्थानीयवासीले स्थानीय सरकार घरघरमा आइपुगेको महसुस भएको बताए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।