कालिका मन्दिरको पार्किङ शुल्क मानव सेवा आश्रमलाई


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित





बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर परिसरको पार्किङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ । कालिका मन्दिरको परिसरमा रहेको पार्किङबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवको व्यवस्थापनका लागि प्रयोग गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिका तर्फबाट समितिका अध्यक्ष कुमार खड्का र मानव सेवा आश्रमका तर्फबाट संस्थाका बागलुङ जिल्ला संयोजक विपना तामाङले हस्ताक्षर गरेका छन । कालिका मन्दिरको पार्किङ जग्गामा मानवसेवा आश्रमले सम्पूर्ण व्यवस्थापकीय कर्तव्य पूरा गरी सङ्कलन भएको रकम आश्रमलाई हुने सहमति भएको हो । कालिका मन्दिरको मानवीय सेवाअन्तर्गत पार्किङ व्यवस्थापनबापत उठेको रकम आश्रमलाई दिइने भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । समितिले पार्किङ शुल्कसमेत निर्धारण गरेको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि रु पाँच, माइक्रो, कार, जीप, भ्यानका लागि रु १० र बसका लागि रु २० निर्धारण गरेको छ । मानवसेवा आश्रम बागलुङ शाखा २०७३ सालमा स्थापना भए पनि आश्रमको आफ्नै भवन निर्माणाधीन अवस्थामा छ । आश्रमको भवन निर्माणका लागिसमेत विभिन्न सहयोग सङ्कलन अभियान चलाइएको छ । मानवसेवा आश्रम बागलुङ शाखामा हाल ५० जना सहयोगापेक्षी बेसहारा तथा सडकमानव आश्रित रहेको शाखाका अध्यक्ष शिव खड्काले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।