यातायात व्यवस्था कार्यालय तनहुँमा आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।
सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिएका छन् । डीएलआरएस र इडीएलभीआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमति नवीकरण गर्न सकिने उनले बताए । उनका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।
सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन ।
सेवाग्राहीको औँठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिल बुक नवीकरणको काम गर्दै आएको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







