एकै परिवारका चारजना मृत फेला


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित





काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी टोली र चिकित्सकको टोली पुगेर अनुसन्धान गरिरहेको बताए । उक्त भवनको सबै झ्याल र ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेका उनको भनाइ थियो ।

घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक डा गोपाल चौधरी र डा आयुष उपाध्यायलगायत टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।घटनाको बारेमा अनुसन्धान टोलीले कानुनी प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।