गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ ।
पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।
ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे ।
‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्र भन्दा केही फरक बनाएका छौं । पुरानो धार भन्दा फरक पाउनुहुनेछ,’ उनले भने ।
उनले चलचित्रको छायाँकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चेडाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाखको लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नविन गुरुङ, ओम गुरुङ छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अन्जु गुरुङको अभिनय छ । सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् । चलचित्रमा मिना गुरुङ, शान्ती गुरुङ(युके), रोशन घले गुरुङ (एच के), खेम गुरुङ (एच के), गंगा देवि गुरुङ (पोखरा), कौशिला गुरुङ (जापान) को संयुक्त लगानी छ ।
चलचित्रका नायक नबिन गुरुङले आफू एक चित्रकारको भूमिकामा देखिएको बताए । उनी ‘एउटा चित्र’ बाट आशावादी देखिन्छन् । चलचित्रको कथा फरक भएकाले आफू अनुबन्धित भएको उनको भनाई छ ।
नायिका उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले बताइन् ।
नायक ओम गुरुङ भने एक प्रसिद्ध व्यवसायिका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा अभिनय गरेकी छिन् ।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’ मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने उनको भनाई छ ।
चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीपजंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाईलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चंगा प्रोडक्सन’ ले गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







