पोखरामा स्तनपानसम्बन्धी जनचेतना सप्ताह सुरु


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित




पोखरामा स्तनपानसम्बन्धी शिक्षा र समर्थनका कार्यक्रमहरु ग्रिएको छ।

विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले उक्त कार्यक्रम संचालन गरेको हो ।

क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा–३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रमसम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै पोखरा –३ का वडाध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको वताए ।

उनले स्तनपान सुरक्षाको महत्वारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जोड दिए । स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उनको भनाई थियो ।

जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले वच्चा जन्मेपछि ६ महिनासम्म आमाकै दूध खुवाउनु पर्नेमा जोड दिइन् । आमाको दुध वाहेक अन्य कुरा खुवाउँदा वच्चाको स्वास्थ्यमा असर पर्ने उनको जोड थियो । स्तनपानसम्वन्धी सचेतनामुलक कार्यक्रम पोखराका विभिन्न वडा कार्यलयहरुसँगको सहकार्यमा सप्ताहव्यापी रुपमा संचालन गरिने अध्यक्ष थापाले जानकारी दिइन् ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.प्रविण श्रेष्ठले स्तनपानको महत्वका विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी, फिजियोथेरापिस्ट डा. सुव कोइरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नुपर्ने व्यायामका विषयबारे सहजिकरण गरेका थिए ।

त्यस्तै, पोषण तथा आहार परामर्शदाता डा विद्या रघुनादन कायस्थले सन्तुलित भोजन विषयबारे सहजिकरण गरेका थिए ।

जोन्टा क्लव पोखराकी अध्यक्ष मोनिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–३ का वडा सदस्य शान्तिदेवी पराजुली, वडा सचिव चन्द्रावती वाग्ले, जोन्टा क्लव अफ पोखराका सृजना भट्टराईलगायतले स्तनपानको महत्वबारे बोलेका थिए ।

जोन्टा क्लव अफ पोखराका कोषाध्यक्ष अन्जना तझ्याले कार्यक्रम संचालन गरेकी थिइन् ।

कार्यक्रममा पोखरा–३ का गर्भवती र सुत्केरी अवस्थाका महिला सहित ४० जनाको सहभागिता थियो । पछिल्लो समय खासगरी सहरी क्षेत्रमा कामकाजी महिलाले समय अभावका कारण पनि वच्चालाई स्तनपानमा भन्दा वट्टाको दुधमा जोड दिएको पाइन्छ । वालरोग विशेषज्ञहरुको अनुभवमा पछिल्लो समय नयाँ आमाहरुले दूध नआएको भन्दै वट्टाको दूध वा लिटो खुवाउने प्रवृत्ति बढ्दो छ । प्रत्येक वर्षको १ अगष्ट देखि ७ अगष्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाइँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।