पोखरा –१५ का जनप्रतिनिधि आफै खाल्डाखुल्डी पुर्दै


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित




पोखरा महानगर–१५ का जनप्रतिनिधि आफैले ग्राभेल लिएर वडाभित्रका खाल्डाखुल्डी पुरेका छन्।

आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलबाढीले सडक बिग्रिएपछि वडाभित्रका ठाउँठाउँमा खाल्डाखुल्डी परेको थियो।

संभावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेपछि केही बेरमै जनप्रतिनिधिहरुले समस्याको सम्बोधन गरेका थियो।

पोखरा महानगरपालिका वडा नं –१५ राम बजारस्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलबाढीले खोलेर सडकमै खाल्डो पारेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।

खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरणबहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।

वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएर आफै अग्रसर भएपछि रामबजारका स्थानीयवासी नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइँ भएको नेतृत्वको संज्ञा दिएका छन्।

अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।