मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ । शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो ।

विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल ९साँघु० बनाइएको थियो । भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिए ।

धवलागिरि गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हुदै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न यही बाटो प्रयोग गर्छन् । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङबाट भारवाङ हुदै धवलागिरिको वडा नं ६ र ४ का नौवटा बस्तीमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो ।

भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन् । सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ । बर्खे बिदा सकिएपछि उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ ।

मराङखोला म्याग्दी नदीको सहायक नदी हो । बाढी आएकाले यहाँ जङ्घार तरेर वारपार गर्न सकिने अवस्था छैन । भारवाङका करिब २० बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।