गण्डकी बहुप्राविधिक शिक्षालयले फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति पायो


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




पोखरा, साउन १८

गण्डकी बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), जियोमेट्रिक ईञ्जिनिरिङ, डिप्लोमा ईन फार्मेसी र हेल्थ असिष्टेन्ट (एच.ए.) अध्यापन गर्ने अनुमति प्राप्त गरेको छ । दुई वर्षअघि पोखरामा स्थापित शिक्षालयले यी चारवटा विषयमा अध्यापन गर्ने अनुमति पाएको हो । सिटीईभिटी परिषदको यहि साउन १५ गते बसेको बैठकले गण्डकी बहुप्राविधिक शिक्षालयलाई फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति दिने निर्णय गरेको शिक्षालयका निर्देशक लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले फार्मेसी र एच.ए. अध्यापनका लागि चिकित्सा आयोगमा सहमति लिने प्रक्रिया थाल्नेपनि बताए ।

शिक्षालयले डेढ वर्ष अघि फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति माग्दै सिटीईभिटी परिषदसमक्ष माग पत्र पेश गरेको थियो । २०७७ साल माघ ८ गते पत्र लेखेर शिक्षालयले अध्यापन अनुमति मागेपनि डेढ वर्षपछि बल्ल निर्णय भएको हो । शिक्षामन्त्री देवेन्द्रराज पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विशेष पहलमा अध्यापन अनुमति प्राप्त भएको बताइएको छ । निर्देशक तिमिल्सिनाले भने,‘अध्यापन अनुमति पाउनुमा मन्त्रीज्यू र मेयर साबको महत्वपूर्ण योगदान रह्यो ।’ उनले अध्यापन अनुमति प्राप्त गर्न सहयोग गर्ने मन्त्री, मेयरदेखि सबैलाई धन्यवाद दिएका छन् ।

सरकारी शिक्षालयले अध्यापन अनुमति पाएसँगै विद्यार्थीले सर्वशुलभ मूल्यमा फार्मेसी र एच.ए. अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ । निर्देशक तिमिल्सिनाका अनुसार शिक्षालय र नीजि मेडिकल कलेजको शुल्कमा झण्डै तेब्बर मूल्य अन्तर पर्छ । उनका अनुसार शिक्षालयले फार्मेसी र एच.ए. अध्ययनका लागि चाँडै शुल्क तोक्नेछ । शिक्षालयले शुल्क १ लाख २५ हजार वरीपरी रहेर शुल्क तोक्ने तयारी गरेको श्रोतले बताएको छ । जबकी नीजि मेडिकल कलेजहरुले यहि अध्यापनका लागि ३ लाख ७५ हजार भन्दा बढी शुल्क लिने गरेका छन् ।

शिक्षालयले पहिलो वर्ष फरेष्ट्री र जियोमेट्रिक ईञ्जिनिरिङ अध्यापन कार्य सञ्चालन गर्ने भएको छ । फार्मेसी र एच.ए. भने अर्को वर्षदेखि अध्यापन गर्ने शिक्षालयको तयारी छ । शिक्षालयका निर्देशक तिमिल्सिनाले भने,‘फरेष्ट्री र जियोमेट्रिक ईञ्जिनिरिङ यहि वर्षदेखि नै शुरु गर्छौं । फार्मेसी र एच.ए. भने अर्को वर्षदेखि मात्रै अध्यापन गराउने तयारी भएको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।