पर्यटकको पखाईमा छाँगे झर्ना


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित





भोजपुर । भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो रहेको छ । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयवासीले यसलाई प्राकृतिको सुन्दर उपहारका रूपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झर्ना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासीको बुझाइ छ । यो झर्नाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश नं १ सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरूपमा विकट ठाउँमा यो झर्ना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ । यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुईपटक मेला लाग्ने भए पनि अन्य समयमा पनि झर्ना हेर्न तथा त्यहाँ रहेका धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।

झर्नास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचाहरूसमेत निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । झर्ना आसपासमा बस्न तथा खानका लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ । सुन्दरताको चिनारी बनाएको धार्मिकरूपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्यादी निको हुने जनविश्वास रहेको छ ।

झर्नालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको उनको भनाइ छ । छाँगे झर्नालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रूपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

यो पाँचवर्षे कार्यकालमा नमूनायोग्य पर्यटकीय तथा धार्मिकस्थल बनाउने गरी पहल गर्ने उदासले जानकारी दिए । षडानन्द नगरपालिका इतिहास बोकेको स्थान रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको प्रमुख उदासले सनाए । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर एकीकृतरूपमा विकास गर्ने उनको भनाइ छ ।

सतीघाटमा रहेको ढुङ्गा संरक्षण गर्दै पार्क निर्माण गरेर त्यहाँबाट साम्पाङमा रहेको कुन्सालिङडाँडा बौद्ध गुम्बा निर्माणसँगै ७५ फिटको रिमपोचे मूर्ति राख्ने, हाँसपोखरी साउनेडाँडा हुँदै, छाँगे झर्ना पुगेर नेपालेडाँडाको ओमकार शक्तिपीठ हुँदै योगमाया समाधिस्थल मजुवाबेँसीलाई समेटेर एकीकृतरूपमा पर्यटकीय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने प्रमुख उदासको भनाइ छ । यो झर्ना संरक्षणका लागि यसअघि षडानन्द नगरपालिकाले रु १० लाख र प्रदेश नं १ सरकारले रु ५० लाख लगानी गरिसकेको वडा नं ३ का वडाध्यक्ष साङ्देम्बा राईले बताए ।

यो स्थानमा साल्पापोखरी र पखुवा भञ्याङ पनि रहेकाले त्यहाँ पुग्न नसक्ने मानिस दर्शनका लागि आउने गरेको वडाध्यक्ष राईले जानकारी दिए । यहाँ गएर दर्शन गरेर नुहाएमा विभिन्न छालाका रोग निको हुने जनविश्वास रहेको अध्यक्ष राईको भनाइ छ । झर्नासम्म बस्तीबाट डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने उनले जानकारी दिए ।

यहाँको ढुङ्गामा बुद्धगुरु रिम्पोचेको मूर्तिसमेत कुँदिएको छ । पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।