गोरखाका चुमनुब्री स्थानीयवासीद्वारा पुल मर्मत गरी सञ्चालन


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित




गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।

गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएका छन् ।

‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो, उनले भने, ‘गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।’

दैनिक मेला पर्मका लागि ओहोर–दोहोर गर्नुपर्ने छुले र निलेगाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए । स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ । बर्खा लागेसँगै खोलाले काठे पुल बगाउने गरेकाले हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो । ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन् ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।