एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित





काठमाडौँ । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् ।

उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशनमा बिहीबारबाट विद्युत् प्रवाह चार्ज गरी सञ्चालनमा ल्याएको छ । कूल २२०÷१३२÷३३ केभी तुम्लिङटार र २२०÷३३ केभी बानेश्वर सवस्टेशनमा क्रमश ः २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् ।

साथै कोशी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिए ।

कूल २२० केभी प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको उनले उल्लेख गरे । संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत गृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिने छ । नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०÷१३२÷३३ केभी इनरुवा सवस्टेशनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात एक्जिम बंैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सवस्टेसन सञ्चालनमा नआएकाले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो ।

संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो । प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गरे । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित जिआईएस ४०० केभी सवस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सवस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सवस्टेशन अर्को ठूलो हब बन्ने छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु ताप्लेजुङ खण्ड र वसन्तपुरमा २२० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।

कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु ताप्लेजुङ देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता पीपीए गरिसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।