बर्दिबासमा बुधवार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित




जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबास मा निषेधाज्ञा जारी गरेको छ।

बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

हिजो (मंगलबार) भएको प्रदर्शन र भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले बर्दिबास नगरपालिका–१ का ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि पुनः हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

बुधवार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यता, बर्दिबासका स्थानीयले बिहानैदेखि चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। बर्दिबास बजार पूर्णरुपमा बन्द गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।