कोभिडविरुद्धको बुस्टर मात्रा लिन स्वास्थ्य मन्त्रालयको आग्रह


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका अनुसार पछिल्लोपटक कोभिड संक्रमणमा परी ज्यान गुमाउनेमध्ये ७६ प्रतिशतले कोभिडविरुद्धको खोप नलगाएको पाइएको समाचार छ ।

वैशाख, जेठ र असारमा मृत्यु नभएका र संक्रमण पनि कम भएको अवस्था रहे पनि श्रावणको पहिलो साताबाट शुरू भएको मृत्युबाट शनिबारसम्म १८ जनाको मृत्यु भएको र तीमध्ये १४ जनाले कोभिडविरुद्धको खोप नलगाएको बताइएकोछ ।

मृत्यु हुनेमध्ये तीन जनाले भने पूर्ण मात्रामा खोप लगाएका तर बुस्टर डोज भने नलगाइएको पाइएको हो । खोप नलगाएका व्यक्तिमा कोभिड हुँदा त्यसले ज्यानै जानसक्ने खतरा समेत बढी हुन्छ । इडीसीडीका अनुसार कोभिडबाट मृत्यु भएका १८ मध्ये १२ जनामा एकभन्दा बढी दीर्घ रोग भएको र एक जनाबाहेक सबैको उमेर ४९ वर्षमाथि ८५ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ सय ५३ जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ । कुल ३ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणमा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा ४ सय ३३ जना डिस्चार्ज भएका छन् भने कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये १२ वर्षमाथि ८८ दशमलव ४ प्रतिशतले मात्र पूर्ण मात्रा लगाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।