जलाइएको अवस्थामा पूर्वसिनेटरको शव भेटियो


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित




श्रम तथा सामाजिक मामिला मन्त्रालयमा काम गरेका पूर्वसिनेटरलाई हाइटीको राजधानी नजिक हत्या गरिएको छ ।

भोन बुइस्सेरेथ र नाम नखुलेका उनका भतिजाको शवसँगै जलाइएको अवस्थामा फेला परेको सरकारी अधिकारीले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् ।

शनिबार अपरान्ह उनीहरूको लाश लावुले समुदायमा भेटिएको प्रहरीले जनाएको छ । गत वर्षको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइसलाई आफ्नो निजी निवासमा हत्या गरिएको स्थान पेलेरिन नजिक उनीहरूको लाश भेटिएको हो ।

पछिल्लो समय हाइटीको सामाजिक आवास प्रवद्र्धनका लागि सार्वजनिक कम्पनीका निर्देशक रहेका बिस्सेरेथ र उनका भतिजाको लाश सरकारी कारभित्र जलाइएका अवस्थामा फेला पारिएको हो ।

सरकारी अधिकारीहरूले सो क्षेत्रमा आफ्नो नियन्त्रण जमाउने प्रयासमा रहेको कुनै आपराधिक समूहको यस घटनमा हात हुनुपर्ने बताएका छन् । सो क्षेत्रमा आफ्नो कावु राख्न दि टि मकाक ग्यांग र टोटो ग्यांगबीच कडा प्रतिस्पर्धा चल्दै आएको छ ।

राष्ट्रपति मोइसको हत्यापछि राजधानी पोर्ट ओ प्रिन्समा ग्यांगहरूबीचको भिडन्त चर्किँदै गइरहेको छ । ती ग्यांगहरूले दर्जनौँ सर्वसाधारणको हत्या गरिसकेका छन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पूर्वसिनेटरको हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।
हाइटी विश्वका अति गरिब मुलुकमध्ये एक हो ।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।