गलकोट । बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष अघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजना निर्माण भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् माझी समुदाय । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो ।
नगरपालिकाको पहलमा वडा नं १को रामरेखास्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर उपलब्ध गराइएकोे थियो । माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरुले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्ष अघिदेखि सुरुभएको खानेपानी आयोजना एकवर्ष अघि नै सकियो, ट्याङ्की, धारोलगायत पूर्वाधार निर्माण भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।
उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पु¥याउने माझी बस्तीमा खानेपानी आयोजना निर्माण गर्दा झण्डै रु ३० लाख खर्च भइसकेको र पानी बिनाकै धारो बनेको पनि एकवर्ष पुगिसकेको छ । दैलोमा खानेपानीको धारो बनेको एक वर्ष बित्दासमेत खानेपानी नआएको माझी समुदायको गुनासो छ ।
कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटरमाथि तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताए । उनले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजना पनि सञ्चालन गर्नका लागि काम थालिरहेको बताए ।
कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताए । उनले कोरोनामा आफै बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गरिने जानकारी दिए ।
अध्यक्ष माझीले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको रु ३० लाख खर्च भइसकेको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउनेगरी कार्यालयले काम गरिने जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







