भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको हो ।
यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौँरीका लागि खुल्ला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि सङ्कटमा परेको किसानको भनाइ छ ।
सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको चौँरीपालन किसान प्रवीन राईले बताए । चौँरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको किसान राईको भनाइ छ ।
व्यावसायिकरूपमा चौँरी पाल्दै आएका राईको गोठमा अहिले ३० ओटा चौँरी छन् । राईले वार्षिक चारदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । चौँरीको दूधबाट उत्पादित घ्यू, छुर्पी बाहिरी जिल्लासँगै कोसेलीका रूपमा देश तथा विदेशमा समेत जाने गरेको छ ।
उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने गर्दछ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईको भनाइ छ । नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवाला डेन्डी शेर्पाले बताए ।
छुर्पी प्रतिकेजी रु आठ सयमा बिक्री हुने गरेको छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्र पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाच्छाबाच्छी चौँरी हुन् ।
त्यस्तै पहाडी गोरुसँग चौँरी गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरी जन्मिन्छ । चौँरी गाई तथा याकलाई रिसाहा जनावरको रूपमा पनि लिने गरिन्छ । यिनीहरु आफ्ना बाच्छाबाच्छीलाई दुश्मनले हमला गरेरमा आक्रामक हुने गर्दछन् ।
यहाँको मैयुङडाँडा, सिलिचुङ, साउनेडाँडालगायतका माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुँदै आएको छ । किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झार्ने गर्दछन् ।
वर्षभरि लेकबेँसी गर्दै व्यवसाय गरिरहेको भए पनि सामुदायिक वनले चरीचरनमा रोक लगाएपछि व्यवसाय सञ्चालनमा समस्या हुने किसानको गुनासो छ ।
केही वर्ष अघिसम्म ५०र६० ओटा गोठ रहेको भए पनि हाल आएर १०र११ मा सीमित भएको मैयुङडाँडामा चौँरी पाल्दै आउनुभएका किसान विमल राईले बताए । चरन अभावले धेरैले पितापुर्खाको पालाबाट गरिआएको पेसासमेत छाड्दै गएको राईको भनाइ छ ।
सीमित ठाउँमा चराउँदा घाँसको अभाव तथा सहजरूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने समस्या हुने गरेको छ । चरन क्षेत्र र जनशक्तिको अभावले गोठमा धेरैले व्यवसाय छाडेको राईले बताए । थोरै लगानी र आफूले मेहनत गरेर चौँरीबाट किसानले आम्दानी लिने गरेका छन् ।
सरकारले पनि गोठ सुधारमा सहयोग गरिरहेको छ । गोठ सुधार भए पनि चरन क्षेत्रको व्यवस्थापनमा पहल गरिदिनुपर्ने यहाँका किसानको माग छ । यहाँका अधिकांश किसानले आफ्नो गोठलाई सुधार गरिसकेका छन् तर, उनीहरु गोठ सुधारले मात्र पेसाको संरक्षण नहुने बताउँछन् ।
चौँरीका लागि चरन क्षेत्र खुल्ला गरिनुपर्ने चौँरीपालन व्यवसायी टेम्बा शेर्पाले बताए । राज्यले गोठवालाको उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने खर्क गोठ संरक्षण समितिका अध्यक्ष पाविहाङ राईले बताए ।
यस्ता पराम्परागत पेशाको संरक्षण गर्दै गोठवालाका समस्यालाई उजागर गर्न सबै जना सङ्गठित भएको उनको भनाइ छ । उच्च पहाडको शोभा बनेको चौँरी संरक्षणमा राज्यले चासो दिनुपर्ने अध्यक्ष राईको भनाइ छ । गोठवालाले प्रकृतिको संरक्षणमा योगदान गरिरहेको भए पनि उनीहरुमाथि चोरी सिकारी तथा वन फँडानी लगाएको झुटा आरोप लाग्ने गरेको राईको भनाइ छ ।
यहाँ निर्माण भएका गोठ पर्यटकलाई लक्षित गरेर गोठबासको अवधारणा अनुसार निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । एउटा गोठमा कम्तीमा २० जना मानिस अट्ने गरी बनाइएको उनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







