‘शहीदका सपना पूरा गर्न मिल्नुपर्छ’


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित





कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शहीदको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन । शहीद याम बिसी स्मृति प्रतिष्ठानद्वारा आज सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले कम्तीमा सङ्घीयता ल्याउने दलहरुबीच मेलमिलाप जरुरी रहेको बताए ।

आन्दोलनको तागतबाट कर्णाली प्रदेश जन्मिएको जनाउँदै मन्त्री बुढाक्षेत्रीले प्रदेशको विकास र समृद्धिका सवालमा सबैको ऐक्यबद्धता आवश्यक रहेको विचार व्यक्त गरे । संविधान निर्माणपूर्व सीमाङ्कन गर्दा छ प्रदेशको खाका सार्वजनिक भएपछि तत्कालीन भेरी– कर्णाली क्षेत्रका बासिन्दा आन्दोलित भएका थिए ।

कर्णाली, भेरी र राप्तीका केही जिल्लालाई जोडेर अलग प्रदेश बनाउनुपर्ने माग राखी २०७२ साल साउन २४ गतेदेखि आन्दोलन सुरु भएको थियो । आन्दोलनकै क्रममा साउन २५ गते वीरेन्द्रनगर– ७ का याम बिसीको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

प्रदेश स्थापनाका क्रममा १३ दिनसम्म चलेको आन्दोलनमा बिसीका साथै वीरेन्द्रनगर– ४ का गोपालसिं रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । आन्दोलन उत्कर्षमा पुगेपछि साबिक कर्णाली अञ्चलसहित, भेरीका सुर्खेत, दैलेख, जाजरकोट र राप्तीका सल्यान, रुकुम पश्चिम जिल्लालाई समेटेर अलग प्रदेशको घोषणा गरिएको थियो ।

बिसीले सहादत प्राप्त गरेका स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सरकारले शहीदको योगदान बिर्सिंदै गएको गुनासो गरे । याम बिसीका बुबा शेरबहादुर बुढाले सरकारले आश्वासन अझै पूरा नगर्दा पीडाबोध भइरहेको बताए ।

प्रदेश सरकार र आफूहरुबीच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नहुँदा शहीद परिवारका सदस्यले रोजगारी पाउन नसकेको उनको गुनासो छ ।

शहीद टीकाराम गौतमका छोरा अमृतले प्रदेश सरकारले छात्रवृत्तिका नाममा वार्षिक रु २४ हजारबाहेक अन्य कार्यक्रम नल्याएको बताए । शहीद परिवारका सदस्यलाई रोजगारी, निःशुल्क औषधोपचार र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।