काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन । उनले डिजेलमा ७१, पेट्रोलमा ५४, ग्यासमा २६, चामलको पीठोमा एक सय १७, कालो भटमासमा ७५, चामलामा ७७ र तोरीको तेलमा ५८ प्रतिशत वृद्धि भएको जानकारी गराए ।
जनताले उपभोग गर्ने खाद्यान्नमा मूल्यवृद्धिले ढाड सेकिएको र जनतामा गरिबी बढ्दा विभिन्न आपराधिक गतिविधि बढेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । लोकतन्त्रमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा जनताको समस्या भए पनि त्यसतर्फ सरकार गम्भीर हुन नसकेको उनले आरोप लगाए ।
सांसद भट्टराईले कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता ल्याउने र सन् १९५० को सन्धिलाई पुनरावलोकतर्फ ध्यान दिन आग्रह गरे । उनले ओम्नी लगायतका विषयमा एक÷एक गरेर छानबिन गर्न आग्रह गर्दै त्यसमा आफ्नो पार्टीले कुनै गल्ती नगरेको जिकिर गरे । उनले चुनाव र त्यसको तयारी धाँधलीरहित बनाउन पनि आग्रह गरे ।
विशेष समयमा अर्का सांसद प्रकाश पन्थले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन लगायतका महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताए । राजनीति र व्यवस्थामा स्थिरता भयो भने शान्ति सुव्यवस्था र विकास हुनेतर्फ ध्यान दिँदै त्यही अनुसार अघि बढ्नुपर्ने आजको आवश्यकता हो भने ।
उनले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने र आगामी मङ्सिर ४ को निर्वाचनमार्फत एउटा सन्देश दिन जरुरी रहेको औँल्याए । सांसद गङ्गाकुमारी बेलवासेले महिलाको समान प्रतिनिधित्वको विषयमा गम्भीर बन्न सबै दललाई आग्रह गरे । संविधानमै भएको व्यवस्था कार्यान्वयन हुन नसकेकामा उनले दुखेसो गरे ।
उनले महिलाहरु प्रत्यक्ष निर्वाचनमा नपर्ने र परे पनि जित्न नसक्ने ठाउँमा उम्मेदवारी दिने अवस्था रहेको बताए। उनले महिला सहभागिता सम्बन्धी प्रतिनिधिसभामा दर्ता भएको सार्वजनकि महत्वको प्रस्तावमा ऐक्यबद्धता रहेको बताए । सांसद सिंहबहादुर विश्वकर्माले राष्ट्रिय दलित आयोगले खेल्नुपर्ने भूमिका प्रभावकारी नभएकामा चिन्ता प्रकट गरे ।
सांसद शेखरकुमार सिंहले बेलैमा ध्यान नपुग्दा सुनसरीको बाढी पसेर सुनसरी, उदयपुर र सप्तरीका २० हजार जनता विस्थापित हुनुपर्ने अवस्था आएको बताएका छन । उनले अझै पनि ध्यान नदिएमा बेलका नगरपालिकाबाट थप फुट्यो भने कोसीको सीमाना कम्तीमा रौतहटसम्म पुग्ने आशङ्का व्यक्त गर्दै समयमै नदी व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुरेश आलेमगरले जनताको माग र पहिचानका आधारमा प्रदेश १ को नामकरण गर्न माग गरे । उर्मिला अर्यालले महिलाहरुको प्रतिनिधित्व घट्दै जाने हो कि भन्ने चिन्ता लागेको बताए । उनले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३० महिला, दोस्रोमा आउँदा १० र त्यसपछिको संसदीय निर्वाचनमा आउँछ ६ जना महिला संसद्मा प्रतिनिधित्व हुनुले पनि समान सहभातिगाको सवाल कमजोर हुँदै गएको देखिएको बताए ।
सांसद जितेन्द्रनारायण देवले केही दिनभित्रै नेपालका दैलेखका एक व्यक्ति कुकुर कामीबाट कविराम कामी हुन लागेकामा सरकारलाई धन्यवाद दिए । उनले यो सरकारले युगान्तकारी कामहरु गरेको स्मरण गर्दै प्रतिपक्षी दल रचनात्मक हुनुपर्नेमा नकारात्मकवादको सिकार भइरहेको बताए । उनले नयाँ ढङ्गको राजनीतिक संस्कारको जरुरी रहेको पनि बताए । बैठकको विशेष समयमा सांसदहरु भगवती न्यौपाने र उदयबहादुर बोहराले समेत समसामयिक विषयमा आआफ्नो धारणा राखेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







