बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए आठौँ पटक शपथ


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिएका छन् ।

उनले मुख्यमन्त्रीको शपथ लिएको योसहित आठौं पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका छन् ।

सात दलीय महागठबन्धनको हिँजोको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि बुधबार नै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई १६४ जना विधायकको समर्थन छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।