नेपाली भारतीय बजारतिर आकर्षित


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित





बाँके । बाँकेको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड थेगिनसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक कुरेर बस्नुपर्ने विडम्बनापूर्ण स्थितिको अन्त्य अझै हुनसकेको छैन ।

केही समयअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नीति जारी गरेपछि रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो ।

तर यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ । घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी सम्पन्न भइरहेका छन् ।

रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोबार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आकलन गरेको छ ।

अझ चाडपर्वका बेला त उपभोक्ताको सङ्ख्या र रकम दोब्बर हुने गरेको छ । नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ ।

भन्सार नियममा पारिबाट सामान ल्याउने जो कोहीले पनि भन्सार तिर्नुपर्छ । तर यो नियम व्यवहारिक हुनसकेको छैन । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि यो विषय धेरैपटक सल्टाउन खोज्यो तर नतिजा ‘हात लाग्यो शून्य’ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।