एन्फाको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ चयन


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कार्यालयमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो । यस्तै बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ भने एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।

यसैगरी, आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई एक खेलका लागि नियुक्त गरेको छ । अमेरिका बस्दै आएका हुमागाई केही वर्षअघि थ्रिस्टार क्लबको प्रशिक्षक थिए ।

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा नै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरिएको छ । च्याम्पियनसिपका भिआइपीतर्फ रु पाँच सय र साधारणतर्फ रु तीन सय तोकिएको छ । उक्त प्रतियोगिताको दिउँसो एक बजे र साँझ ५ः३० बजे खेल खेलाउने निर्णय भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।