विदेशबाट फर्केर पशुपक्षी फार्म


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित





कञ्चनपुर । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन । कतारमा झण्डै डेढ दशक बिताएर फर्किनुभएका उहाँले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेका हुन ।

चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् । गत वैशाखमा मात्रै उहाँले ३५ वटा बङ्गुरका पाठा बिक्री गरी रु एक लाख पाँच हजार आम्दानी गरे । अझै फार्ममा २२ बङ्गुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् ।

गत महिना मात्रै चौधरीले रु तीन हजारको कुखुरा बिक्री गरे । फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसक्नु भएका उनलाई सुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्ला दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएकोे छ । वर्षमा चौधरीले फार्मबाट रु पाँच लाख आम्दानी गर्दै आएका र यसबाट परिवारको खर्च सहज रुपमा चलेको छ ।

फार्ममा बढी लगानी गरे डुब्ने डर छ । बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उनले उल्लेख गरे । विसं २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ थियो ।

फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा विहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताए । फार्ममा उनीसंगै उनकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् ।

कोरोना सङ्क्रमण फैलिएपछि दुई बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।