छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित




तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ ।

छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो ।

परेवा मर्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए । कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए ।

उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ । भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।