राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित





काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिए ।

नेपालीको यस वर्षका मुख्य चाड दसँै, तिहार र छठमा हुने साथीभाइ तथा आफन्तजनबीचको भेटघाटले थप चुनावी रौनक प्रदान गरी चहलपहल र प्रचारप्रसारले तीव्रता पाउनेछ । नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले मुलुकका सबै राजनीतिक दलका गतिविधि पूरै निर्वाचन केन्द्रित भएको प्रतिक्रिया दिए ।

आगामी निर्वाचनलाई केन्द्रित गरी मुलुकका प्रमुख राजनीतिक शक्तिबीच गठबन्धन र चुनावी तालमेलका विषयमा दिनहुँजसो वार्ता तथा संवाद चलिरहेको छ भने जिल्ला तहमा सम्भावित उम्मेदवारको छनोटका लागि चर्चा परिचर्चा सुरु भइसकेको छ ।

नेकपा माओवादी केन्द्रकी नेत्री जयपुरी घर्तीले रासससँग कुराकानी गर्दै पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीका बैठक बसिरहेकाले उनीहरुले गर्ने निर्णयपछि स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन हुने बताए ।

अर्कोतर्फ निर्वाचन आयोगले पनि ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन अर्जुनदृष्टिका साथ मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यतालिकामा मिति घोषणादेखि निर्वाचन अवधि प्रारम्भ, बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।

सरकारले यही साउन १९ गते आगामी निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन तयारीका लागि आयोगसँग एकसय सात दिन उपलब्ध छ । आयोगले अहिले खासगरी निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिलाई अन्तिम रुप दिने र निर्वाचन सामग्री व्यवस्थापन तयारीलाई उच्च प्राथमिकता दिएको छ ।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकामा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।