खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित




म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल । तस्बिर : कमल खत्री


बेनी । अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ ।

जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटक सहभागी भएका छन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने यस धार्मिक स्थलमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमामा मात्रै ७०० भन्दा बढी भक्तजन सहभागी भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताए ।

उनका अनुसार यसवर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायत ठाउँबाटसमेत भक्तजनको यस स्थलमा उल्लेख्य सहभागिता थियो । खासगरी सन्तान प्राप्ति, रोकिएका काम अघि बढाउन र सु–स्वास्थ्यलगायजस्ता भाकल गर्नेहरु यहाँ आइपुग्ने गर्छन् । खयर भारानी थानमा पूजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि पनि भाकल गरेर बर मागे बमोजिमको पुनः पूजा गरी बर फिर्ता गर्ने चलन रहेको स्थानीय समाजसेवी राजु पुनले बताए।

यहाँ वर्षौ पहिले भाकल गरेकाले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः पूजा र भाकल फिर्ताको लागि समेत आइपुग्ने गरेका थिए । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा भएको तर पनि विविध कारणले २० वर्षपछि पुनः खयर भारानीमा पूजा गर्न आएको रघुगङ्गा गाउँपालिका–२ की निर्मला भण्डारीले बताए ।

पोखरा फूलबारीबाट चार दिन लगाएर खयर भारानी पुगेका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ती हुने सपना साकार होस् भनेर भाकल गरेको बताए ।

पहाड र जङ्गलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेकसम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरिएकाले भक्तजनलाई सहज भएको छ। पाउद्वार–खोप्रा–खयरखोला हुँदै खयरलेकसम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारालगायत पूर्वाधार निर्माण गरिएको छ ।

भक्तजनको सुविधाका लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृहसहित खाना र खाजाकोसमेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मीनबहादुर तिलिजा पुनले बताए ।

आँखै अगाडि देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू–बनोट खयर पदमार्गको थप आकर्षण हो । यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, बराह शिखर, गुर्जा, चुरेनलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।