राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित




पोखरा, साउन २९

पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुन लागेको हो । प्रतियोगिता पोखरा–८ स्थित डेभिज् स्नुकर क्लवमा सञ्चालन हुने आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

विलियार्ड स्नुकर खेलको विकास, बिस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका खेलाडीले सहभागिता जनाउन पाउने संघले जनाएको छ । प्रतियोगितामा करीब एक सय जना प्रतियोगिता सहभागि हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक शंकर गुरुङले बताए । उनका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडीहरु प्रतियोगितामा सहभागिताका लागि आउँदैछन् । खेल नकाउटका आधारमा हुने उनले बताए ।

स्नुकर खेलपनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सागरकुमार साईले जानकारी दिए । ‘खेल बुझाउँदै यसप्रति रुची बढाउने र नया खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य हो’–उनले भने ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५१ ह्जार १ सय ११, द्वितीय हुनेलाई ७१ हजार १ सय ११ र सेमीफाईनल पुगेका दुई जनालाई जनही १५ हजार १ सय ११ प्रदान गरिने अध्यक्ष साईले बताए । त्यस्तै प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने उनले बताए ।

प्रतियोगिता समापनको अवसरमा विलियार्ड स्नुकर खेल स्थापित गर्न महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने संघका महासचिव सविन जिसीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करीब १८ लाख खर्च लाग्ने अनुमान गरिएको संघले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न संघसंस्था र व्यक्तिहरुबाट संकलन गरी जुटाईने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताए ।

प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ बारे जानकारी गराउँदै आयोजक । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।