नाङ्गी बाराहनीको दर्शन गर्न आउने बढे


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित





गलकोट । जङ्गलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी ।उक्त दृश्य हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाङ्गी बराही मन्दिर परिसरको । भक्तजनले मागेको बर पूरा गर्ने मनोकाङ्क्षाका साथ उक्त मन्दिरमा बर्सेनि पुग्ने भक्तजनको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

वर्षमा एकपटक श्रावण शुक्लपक्ष जनैपूर्णिमाका दिनमात्रै विशेष पूजाआजा हुने नाङ्गी बराहनी माताको पछिल्लो समय भक्तजनको ओइरो नै लाग्ने गरेको छ । कतिपयले बर माग्ने र कति मागेको बर पूरा भएपछि बर फिर्ता गर्न त्यस स्थानमा जनैपूर्णिमाका दिन पुग्ने गरेका छन् ।

तालको हिलो समातेर भक्तजनपछि नफर्किकन घर फर्कने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ ।

पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनले मन्दिरमा बर माग्ने चलन रहेको स्थानीय रमन पुनले जानकारी दिए । आफूले चाहेको पूरा गर्ने विश्वासका साथ नाङ्गी बराहनी माताको दर्शन गर्न आएको पर्वतस्थित जलजला गाउँपालिका–४ का विशाल पुनले बताए ।

अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजा पुनले स्थानीय जनताको सक्रियतामा नै नाङ्गी बराहनी माताको प्रचारप्रसार तथा पूर्वाधार निर्माण गरिएको बताए । उनले आगामी दिनमा वडाले समेत सक्दो सहयोग गर्ने बताए । उक्त गाउँ राष्ट्रिय आविस्कार केन्द्रका सञ्चालनक तथा परिकल्पनाकार महावीर पुनको गाउँ भएकाले प्रचारप्रसारमा सहयोग पुगेको स्थानीयको भनाइ छ । मन्दिर र मन्दिर नजिकैको प्राकृतिक तालका कारण मन्दिर प्रसिद्ध भएको हो ।

मगर पुजारी रहेको नाङ्गी बराहनी माता मन्दिरमा बोका, परेवा, नरिवल मात्रै चढ्ने गरेको छ । उक्त बर लिएपछि पछाडिसमेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थानसम्म झर्नुपर्ने परम्परा रहेको छ । आफ्नो मनकामना पूरा भएपछि पुनःवर्ष दिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको सङ्ख्या पनि अत्यधिक बढेको छ ।

जनैपूर्णिमामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, गोरखा, नवलपुर र चितवनलगायतका जिल्लाबाट श्रद्धालु भक्तजन नाङ्गी बराहनी माताको मन्दिर दर्शन र पूजाआजा गर्न आउने गरेका छन् । मनोकामना पूरा हुनेहुँदा नाङ्गी बराहनी माताको दर्शन गर्न र उनीसमक्ष वर माग्न आउने गरेको भक्तजन बताउँछन् ।

सोही गाउँपालिकाकै वडा नं ५ शिख पाउद्वारस्थित खयरबराह मन्दिरमा समेत मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छाअनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पूजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन पुगेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।