पोखरामा तायाःमचा नृत्य प्रतियोगिता शनिबार हुने

- प्रतियोगितामा २३ समूह सहभागि हुने


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित




पोखरा, भदौ १

पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल तायाःमचा समिति पोखराको आयोजनामा यहि भदौ ४ गते शनिबार ‘हाम्रो प्रण ः संस्कृति संरक्षण र सम्वद्र्धन’ भन्ने नाराका साथ यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा शुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा २३ समूहले भाग लिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा २३ समूहमध्ये ५ महिला नृत्य समूहलेपनि सहभागिता जनाउने उनले बताए ।

अघिल्ला वर्षहरुमा ३० भन्दा बढी समूहले प्रतियोगितामा सहभागिता जनाउँदै आएका थिए । तर यस वर्ष झण्डै एक चौथाई समूह कम हुने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण प्रतियोगि समूह कम भएको आयोजकको दाबी छ ।

लोपोन्मुख संस्कृति र परम्परा जोगाउँदै नया पुस्तालाई तायाःमचा नृत्यप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिदै आएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । २०५४ सालबाट शुरु भएको तायःमचा नृत्य प्रतियोगिता यसपटक २४ औं पटक हुन लागेको उनले बताए । ८ वटा समूहबाट शुरु भएको प्रतियोगितामा अहिले सहभागिता बढेपनि पछिल्ला वर्षहरुको तुलनामा केहि समूह घटेको बताए । ‘प्रतियोगि समूह घट्नुको मुख्य कारण कोभिड–१९ हो । कोभिडको डरकै कारण तयारी गर्न नपाउँदा केहि प्रतियोगिता समूह आएनन्’–उनले भने । तर तायाःमचा नृत्यप्रति नेवारी समुदायसँगै गैर नेवार समुदायकाहरुपनि आकर्षित हुन थालेको उनले दाबी गरे । भने,‘नेवार समुदायका किशोर÷किशोरी, युवा÷युवतीको आकर्षण त छँदैछ । गुरुङ, मगर, क्षेत्रीलगायतका समुदायकाहरुपनि तायाःमचा नृत्य सिक्न र प्रतियोगिका रुपमा समूह बनाएरैपनि आएका छन् ।’

प्रतियोगिताको बिजेतालाई ३५ हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै, उत्कृष्ट महिला समूहलाई ११ हजार, उत्कृष्ट वाद्यवादन समूहलाई ५ हजार तथा उत्कृष्ट जोकरलाई २ हजार ५ सय प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करीब १५ लाख लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन खर्च प्रायोजक तथा सहयोगी संघसंस्थाबाट संकलन गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका सचिव विमल श्रेष्ठले जानकारी दिए ।

भदौ ४ गते शनिबार पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।