कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो ।
नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दैआएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताए ।
“नेपाली भूमिमा बाँध निर्माण भए पनि करिब छ सय मिटर भारतीय भूमिमा बाँध निर्माण हुन नसक्दा हाम्रो इनरुवा बजार असुरक्षित थियो, बर्सेनि वर्षायाममा कमलाको बाढी बजारमा पुग्दा ठूलो कष्ट भोग्न बाध्य थियौँ”, उनले भने, “तर अब भारतीय पक्षले आफ्नो भूमिमा बाँध बनाएपछि पूर्णरुपले हामी सुरक्षित भएका छौँ ।” बाँध निर्माणपछि भारतीय बजार जयनगरसम्म पुग्नसमेत सहज भएको छ ।
“सीमावर्ती गाउँ बल्डीहा नजिकै लामो समयदेखि तटबन्ध नबन्दा पहिला स्थानीयलाई ठूलै सास्ती हुँदै आएको थियो”, जनकनन्दनी गाउँपालिकाका सफिक मियाँले भन्नुभयो, “नेपालतर्फको सबै ठाउँमा बाँध बनिसकेको थियो, तर बोर्डमै बाँध नबन्दा बर्सेनि डुबानसँगै भारतीय बजार जयननगरसम्म पुग्नसमेत सास्ती हुन्थ्यो ।”
नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताए । “हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दैआएका थियौँ”, उनले भने । उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो ।
भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात सञ्चालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको सङ्ख्यामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन् ।
यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् ।
तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







