पोखरीमा डुवेर २४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।


सप्तरी । सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो ।

उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको प्रहरीले जनाएको हो । बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो ।सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो ।यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो ।

छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो । सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो ।

उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९÷८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ ।

मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ११, २०७७÷०७८ मा २२ र २०७८÷७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ ।

तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा सात बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन् ।यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।

तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो ।

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेकोे सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो । डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ ।

प्रहरी नायब उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताए । प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० ओटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो ।

सामुदायिक सेवा केन्द्रका लिल्लाअध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पु¥याउन र निगरानी गर्न आग्रह गरेको छ ।रास


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।