भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित





मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ ।

सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ ।

कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि रु ५५ करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ । कार्यालयले नक्शाङ्कनको काम अघि बढाइसकेको र तीन÷चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ ।

राष्ट्रिय भवन संहिताअनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीलगयात वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताए। नेपालमा काठमाडौँको नरदेवीमा एक सय शय्या र सुदूरपश्चिममा ५० शय्याको अस्पताल सञ्चालनमा छन् ।

अन्य प्रदेशमा भन्दा यहाँ छिटो काम हुन लागेको उनले जानकारी दिए । सोही ठाउँमा ३०० शय्याको शिक्षण अस्पतालसमेत बन्दै छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलव्ध गराइसकिएको बताए । भरतपुरमा सङ्घीय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज, २४ भन्दा बढी साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा छन् ।

निजी क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षण अस्पताललगायत निर्माणको प्रक्रियामा रहेका छन् । राजधानी बाहिर सबैभन्दा बढी स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ । एकीन तथ्याङ्क नभए पनि वार्षिक रु २० लाख हाराहारीले यहाँबाट सेवा लिने गरेको अनुमान गरिएको छ । भारतीय सीमा क्षेत्र र नेपालभरीबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।