राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गरेका हुन् ।

भवनको उद्घघाटन गर्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताए । आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मानुसासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको प्रमुख आचार्यले बताए । नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीहरूको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहन समेत मिल्ने उनले विश्वास व्यक्त गरे । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा उक्त विद्यालय अग्रणी रहेको बताए । विद्यालय संचालनमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय तथा पहल गर्ने उनले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका मार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताहरूको सहयोग समेत गरी भवन निर्माणमा रु.४१ लाख ६५ हजार बढी खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिए । आर्थिक अभावका कारण विद्यालयमा आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न नसकिएको उनले गुनासो गरे । विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले बताए ।

कक्षा ६ देखी १० सम्म पढाई हुने उक्त विद्यालयमा २५ जना विद्यार्थीहरूले आवासीय सुविधा सहित अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले बताए ।

२०७० सालमा स्थापित उक्त विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषयहरूमा पढाई हुने गरेको छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थीहरू पास आउट भैसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।