फेवातालको सिमाङ्कन तीन महिनामा सकिन्छ : मुख्यमन्त्री गुरुङ

- हिमागृह र रत्नमन्दिर सर्वसाधरणका लागि छिट्टै खुल्ने


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




मंसिर १२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमाङ्कनको काम तीन महिनाभित्र सकिने बताएका छन् ।

पोखरा पर्यटन परिषदको २० औं वार्षिक साधरण सभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्दै उनले लामो समयदेखि विवादितरुपमा रहेको सिमाङ्कनको काम सकेर मूअब्जा वितरणमा लाग्ने बताए ।

मुख्यमन्त्री गुरुङले फेवातालको नक्साङ्कन र सिमाङ्कनको काम तीन महिनाभित्र सकेर मुअब्जा लगायत यसको सौन्र्दयकरणको काम अर्को वर्षसम्म सकिने बताएका हुन् ।

साथै उनले नेपाल ट्रस्ट अन्र्तगत रहेको फेवाताल किनारमा अवस्थीत हिमागृह , रत्न मन्दिर सर्बसाधरणका लागि छिट्टै खुल्ला गरिने बताए । ४ महिना अघि खुला गरिसक्ने निर्णय भएको भएपनि विभिन्न कारणले रोकिएको भन्दै उनले यो प्रक्रिया छिट्टै टुङ्गिने जिकिर गरे ।

गुरुङले पोखराको पर्यटन विकासका लागि एउटा पर्यटन प्याकेज बनाउन आवश्यक रहेकोमा जोड दिँदै पोखरालाई केन्द्रमा राखेर प्याकेजहरुको विस्तार गर्न पर्यटन व्यवसायीलाई सुझाव दिए ।

पोखरालाई पर्यापर्यटन, शाहसिक पर्यटन लगायतका क्षेत्र समेटेर व्यवस्थीत पर्यटन प्याकेजको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारण पोखराको पर्यटन क्षेत्र विषम र कष्टकर अवस्थामा रहेको बताए ।

विगत ५० वर्षदेखी यहाँको पर्यटनमा द्वन्द, भूकम्प, नाकाबन्दी र अहिले कोरोनाका कारण समस्याबाट गुज्रिरहेको पर्यटन क्षेत्रलाई उकास्न जोड दिएर सबै क्षेत्र लाग्नुपर्ने अवस्था आएको बताए ।

सरकारले राष्ट्र बैंक मार्फत ल्याएको मौद्रिक नितिले मुर्छित अवस्थाको पर्यटन क्षेत्रलाई बहुराउने काम गरेपनि सो नितिको कार्यान्वयन प्रभावकारी हुन नसक्दा समस्या केही समयका लागि सरेपनि टरेको अवस्था भने नभएको उनले बताए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।

अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।