रामपुर । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन ।
खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनी बताउछन । कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उनको भनाइ छ ।
रामपुरकै बुद्धिमान बोटेले करिब १० घण्टा लाइन बसेर मुस्किलले सहकारीमार्फत १० किलो मल पाए । सो मल उनको धानबालीलाई पर्याप्त छैन । धान रोप्ने समयमा आवश्यकताअनुसार राख्न नपाएकाले मेहनत र लगानीअनुसार उत्पादन लिन नसकिनेमा उनी चिन्तित छन । केही कृषकले मल अभावका बाबजुद धान लगाए ।
गोडमेल गर्ने समयमा मल भित्रन्छ भन्ने आशाले धान लगाएका कृषक अहिले मल नपाउँदा उत्पादन लिन नसक्ने चिन्ताले पिरोलिएका छन् । खेतमा लगाएका धानबाली सप्रन सकेका छैनन् । सरकारले हरेक वर्ष कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ हेर्दै आएको बताउँदै आएको छ ।
कृषक भने मुख्यबाली धानका लागि रासायनिक मल अभावबाट मुक्त हुन सकिरहेका छैनन् । मागअनुसारको मल आपूर्ति नहुँदा खेतीपातीका लागि खेतबारीमा व्यस्त हुनुपर्ने समयमा पाल्पाका किसान डिपो र वितरण केन्द्र दैनिक धाउन बाध्य छन् । कृषि सामग्री कम्पनीबाट कोटामा उपलब्ध भएको मल पाउन घण्टौँ लाइनमा बस्न बाध्य छन् ।
कम्पनीमार्फत सीमितमात्रामा आउने मल लिन कृषक दैनिकजसो आउने गरेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउछन । माथिल्लो निकायबाटै मल नभित्रिँदा कृषकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ । पाल्पाका लागि आएको मल कृषि सामग्री कम्पनी जिल्ला शाखाले कृषियोग्य भूमिको क्षेत्रफलका आधारमा स्थानीय तहलाई कोटाअनुसार वितरण गरिरहेको छ ।
स्थानीय तहले सहकारीमार्फत मल वितरण गरिरहेको छ । तर मागअनुसारको मल वितरण नहुँदा सहकारीलाई वितरण गर्न हम्मेहम्मे परेको छ । समानुपातिकरुपमा मल वितरण गर्न भिडभाड भएपछि केही दिनअघि सूर्योदय कृषि सहकारी संस्थाले प्रहरीको सहयोगमा प्रतिव्यक्ति १०÷१० किलोको दरले युरिया मल वितरण गरेको कार्यवाहक अध्यक्ष मित्रलाल गौतम बताउछन ।
रामपुरमा विगतमा दुई हजार मेट्रिकटन रासायनिक मल जिल्लामा खपत हुने गरे पनि यस वर्ष हालसम्म दुई सय ५० मेट्रिकटन मात्र मल उपलब्ध भएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामपुर, माडी, अर्गली, हेक्लाङ, पूर्वखोला, दोभान, झडेवालगायत जिल्लाको विभिन्न स्थानमा गरी आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष धान लगाइएको छ ।
जिल्लामा छ महिनादेखि मलको अभाव सिर्जना भएको छ । धानबाली मात्र नभई मकै, तरकारी, फलफूलबाली समेत उचित समयमा युरिया मल दिन नसक्दा मेहनत र लगानीअनुसारको यस वर्ष उत्पादन स्याहार्न नपाइने कृषक बताउँछन् ।
उत्पादन बढाउने उद्देश्यले खेतबारीमा पछिल्लो समय रासायनिक मलको मात्रा बढ्दो छ । रासायनिक मलको मात्राले खेतीयोग्य जमिनमा नराम्रो असर पारिरहेको छ । पहिलेजसो खेतबारीमा घरायसी मल प्रयोग गरेर खेती उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







