Cyber Attack Crime
पोखरा । पोखरा–१८ आदर्शबस्तीका सुजन भण्डारी (१९) लाई शनिबार राती अंकल चेतनाथ भण्डारीको फेसवुक म्यासेन्जरबाट म्यासेज आयो । म्यासेजमा अंकलले आफू समस्यामा परेको भन्दै २५ हजार रुपैयाँ मागे । सुजनले आफूसँग पैसा नभएको बताए । अंकलले पैसा नभए ईसेवा आईडी र त्यसको पीन दिन भने । आफ्नो साथीसँग पैसा माग्नका लागि ईसेवा आईडी र त्यो पैसा निकाल्नका लागि त्यसको पीन चाहिने भन्दै उनले ईसेवा आईडी र पीन मागेका थिए । नभन्दै भतिज सुजनले अंकललाई ईसेवा आईडी र पीन नम्बर दिए ।
त्यसपछि चेतनाथको फेसवुक आईडी प्रयोग गरेर सुजनको ईसेवा आईडीमा पैसा माग्न थालियो । धेरैलाई पैसा मागेपछि केहि नजिकका एक जनाले चेतनाथलाई के भएछ भनेर फोन गरे । तर चेतनाथले आफूलाई त्यस्तो केहि नभएको र पैसाको पनि समस्या नरहेको बताए । त्यसपछि मात्रै चेतनाथले आफ्नो फेसवुक आईडी ह्याक भएको पत्तो पाए ।
यता सुजनलेपनि विहान अंकललाई फोन गरेपछि मात्रै आफूले ईसेवा आईडी र पीन ह्याकरलाई दिएको मेसो पाए । उनका अनुसार आफ्नो आईडीबाट पटक÷पटक गरेर एक लाख रुपैयाँ ट्रान्सफर भएको छ ।
पोखरा–११ फुलबारीका कृष्ण दवाडीलाईपनि शनिबार बेलुका साथी मोतीसागर अधिकारीको अकाउण्टबाट म्यासेन्जरमा एउटा म्यासेज आयो । म्यासेजमा आईतबार विहान एउटा जुम मिटिङ भएकाले त्यो आईडीमा जोडिन आग्रह गरे । त्यसपछि उनले जुम आईडीको लिङ्क एकपटक खोलेर हेर्न र त्यो फेरी आफूलाई फरवार्ड गरिदिन आग्रह गरे ।
साथीले भनेपछि दवाडीलेपनि त्यो म्यासेज अधिकारीलाई फरवार्ड गरिदिए । त्यहि फरवार्ड गरेको लिङ्क प्रयोग गरेर दवाडीको फेसवुक ह्याक गरेर दर्जनौं व्यक्तिलाई आफू समस्यामा परेको भन्दै पैसा मागेको पाईएको छ । त्यसरी मागेका मध्ये माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा पर्यटन व्यवसायी राम गुरुङले २५ हजार ईसेवामा हालेको दवाडीले बताए ।
भण्डारी र दवाडीकोजस्तै कास्कीमा फेसवुक आईडी ह्याक गरेर ठगी गर्ने समस्या बढ्दो छ । कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दैनिक ३÷४ वटा साईबर ठगीका समस्या आउने गरेको बताए । उनका अनुसार साउनमा मात्र साईबर ठगीका २९ वटा उजुरी परेका छन् ।
गत वर्ष भने २ सय ९७ वटा यस्ता उजुरी परेका थिए । त्यसपछि फेसवुक ह्याक भएको १२६ वटा, फेक फेसवुक आईडी बनाएको ९६ वटा, अश्लिल म्यासेज पठाएको ३६ वटा तथा म्यासेन्जरमा पैसा मागेर ठगी गरेको ३८ वटा उजुरी परेका थिए । उनका अनुसार यसरी ठगीमा पर्ने मध्ये १२७ जना पुरुष र १७० जना महिला रहेका छन् ।
यसरी हुने ठगीमा नक्कली आईडी प्रयोग हुने गरेको छ । कसैको हराएको नागरिकता, लाईसेन्स प्रयोग गरेर बैंक अकाउन्ट र ईसेवा खोल्ने र अन्यको ह्याक गरेर जम्मा गरेको रकम सो अकाउन्टमा जम्मा गर्ने गर्दछन् । त्यसपछि सो रकम भारतबाट निकालिने गरेको पाइएको प्रहरीको भनाई छ ।
जनचेतनाको अभावका कारण साईबर ठगी हुने गरेको डिएसपी तिवारीले बताए । आफ्नो म्यासेन्जरमा आएको लिङ्क अरुलाई पठाईदिने, आफ्नो बैंक अकाउन्ट, ईसेवा आईडीलगायत आफन्त तथा साथीभाईले माग्दा दिने गर्दा ठगीमा पर्नेगरेको उनको भनाई छ । ‘मान्छेले जनचेतनाको अभावमा आफ्नो आईडी, पीन, ईसेवा, अकाउन्ट दिन्छन् ।
त्यहि प्रयोग भएर ठगी हुनेगरेको छ’–उनले भने । उनले साईबर ठगीबाट बच्न मान्छे आफै सचेत हुनुपर्ने बताए । कम्तिमा कोहि समस्यामा परेर पैसा मागेको भए फोन गरेर कन्फर्म गरेपछि मात्रै दिने बानी बसाल्नुपर्ने उनले बताए ।
नक्कली आईडी प्रयोग गरेर बैंक अकाउन्ट र ईसेवा खोलिने तथा भारतबाट पैसा निकालिने भएकाले ठगी गर्ने पक्राउ गर्न मुश्किल हुने गरेको डिएसपी तिवारीले बताए । ठगीको अनुसन्धान गर्दैजाँदा अन्तिममा मजदुरी गर्नेहरु जो ठगीमा संलग्न नभएको तर उनीहरुको नागरिकता र लाईसेन्स प्रयोग भएको पाईने उनको भनाई छ ।
यद्वपी आफूहरुले अनुसन्धान गरेर दोषी पत्तालगाउने प्रयास जारी राखेको उनले बताए । ‘हामीले ठग पत्ता लगाउने प्रयास जारी राखेका छौं । केहिलाई पक्राउ गरेर मुद्धापनि चलाएका छौं । तर ठगिनबाट बच्न आफै सचेत हुनुपर्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







