दाङमा तीज गीतको रौनक


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित





दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हर्षोल्लासका साथ तीज मनाउन नपाउँदा खल्लो महसुस भएकामा अहिले खुसी लागेको यहाँका महिला बताउँछन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा साथीसँग तीजमा रमाइलो गर्न तथा बजारमा सँगै गएर किनमेल गर्न पाएनौँ, यसपटक भने शिव मन्दिरमा जाने पूजापाठ गर्ने र छमछमी नाँचेर गरेर रमाइलो गर्ने योजना बनाएको बताउछन ।

तुलसीपुर–५ का ३५ वर्षीया शारदा वली । उनी तीजका लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यान्न सामग्रीसमेत किनिसकेको बताउछिन ।तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारी विगतका वर्षभन्दा यसपटक राम्रो व्यापार भएको बताएकी छन ।

तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ दाङ महिला विभागले ‘पत्रकार महिलाका सवाल र तीज’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा बोल्ने वक्ताले पत्रकार महिलाको पेशागत सुरक्षा र क्षमता विकासका लागि सम्बन्धित सञ्चार गृहले सहयोग गर्नुपर्ने र त्यसका लागि स्वयं पत्रकार महिलाले अवसरको खोजी र क्षमता विकासमा लाग्नुपर्नेमा जोडसमेत दिएका छन् ।

जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा स्थान पाउँदा समाजमा सकारात्मक सन्देश जाने निष्कर्ष निकालेका छन् ।परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने शैलीमा परिवर्तन भएको छ ।

धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन छ । तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ ।

यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भन्दै चासो व्यक्त हुन थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ४६ वर्षीया राधा रजौरेले तीजलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताएकी छन ।

विगतका वर्षमा तीज आउन दुई महिनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी तथा सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको बताउने उनी अहिले कोरोनापछिको तीज भएकाले पहिलेको तुलनामा केही कमी आए पनि अझै सहर बजार तथा महँगा रेष्टुरेन्टमा गएर तीज आउनु अगावै दर खाने चलन राम्रो नभएको उनी बताउछिन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की ४४ वर्षीय नीरा ढुङ्गानाले तीजलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्नेमा जोड दिन्छन । महिला उद्यमी सपना बस्नेत पनि तीज हाम्रो मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताउछिन ।

उनी तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दर खाने तथा तीज मनाउने तरिकाको विकास भए राम्रो हुने विचार राख्नुहुन्छ ।कोहलपुर निवासी कालिका रेग्मी तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउछिन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।