मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बिर ।


काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै रु तीन लाख माग गरेकामा रु एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए ।

प्रहरीले पक्राउ परेकासँग रु एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।