प्रविधिको प्रयोग गरी तरकारी खेती


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित





कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए ।

गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उनले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाएका छन । उनले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गरेका छन । तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उनको रहेको छ ।

तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैँसी भने उनले पालेका छन । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न चौधरीसँग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यसमध्ये छ कठ्ठा जग्गा उनले तरकारी खेतीको आम्दानीले जोडेका छन ।

यस वर्षको हिउँदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरिसकेका छन । तरकारी खेतीबाहेक अरु जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आँटेको छ । एक दुई दिनमा धान काटन सुरु गर्ने चौधरीले बताए ।

नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उनले अनुमान गरेका छन । गतवर्ष सोही जग्गामा उनले १८ क्वीन्टल धान उत्पादन गरेका थिए । यस वर्ष दश कठ्ठा जग्गामा तरकारी खेती र एक बिघा जग्गामा केरा खेती गर्ने योजनासमेत रहेको उनले सुनाए ।

तरकारी खेतीकै कमाइबाट चौधरीले कैलालीको धनगढीमा घडेरी, गाउँमा पक्की घर, मेसिनरी औजार, सिँचाइका लागि बोरिङ, विद्युतीय मोटरलगायतका सामान जोडेका छन् । तरकारी बेच्नका लागि ५० प्रतिशत अनुदानमा उनले अटो रिक्सासमेत पाएका छन । उत्पादित तरकारी स्थानीय बजारदेखि महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।

भारतसँगै सीमा जोडिएको क्षेत्र बैवाह भएकाले भारतीयले समेत घरबाटै फुटकर रुपमा तरकारी खरिद गरेर लैजाने गरेका छन् । रामलाल जस्तै बैवाह गाउँका अन्य दुई जनाले समेत दश कठ्ठा जग्गामा तरकारी खेती गरेका छन।

दुई कठ्ठादेखि पाँच कठ्ठासम्म तरकारी खेती गर्ने किसान भने १२ जनाजति रहेका छन् । प्रविधिको प्रयोग गरी तरकारी खेती गर्नेमा गाउँका एक्ला रामलाल मात्रै रहेका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।