वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ फाइबर टु द होम सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो ।
नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए ।
भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्ररुपमा काम अगाडि बढेको उनले जानकारी दिए । तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटिटिएच’ सेवा भित्र्याएको हो ।
‘एफटिटिएच’ सेवा भित्र्याएसँगै सेवाग्राहीले टेलिफोन लाइन जडानका लागि निवेदन दिने बढ्दै गएको उनले बताए । तामाको तारमार्फत वितरण गरिएका टेलिफोन लाईन करीब एकहजार छन् । तामाको तारमार्फत टेलिकमले उपलब्ध गराएको ‘एडिएसएल’ सेवाको गति कम भएकैकारण यसअघि केही ग्राहकहरुले सेवा लिन छोडे पनि अहिले फेरि आकर्षण बढेको उनले बताए ।
‘एफटिटिएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, तीन सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा एकसय मिटर ड्रप फाइबर निःशुल्क, सिपिई राउटर निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ ।
कम्पनीले ग्राहकका लागि तीव्र गतिको इन्टरनेट सेवा, टेलिफोन सेवा र टेलिभिजन सेवा ‘ट्रिपल प्ले’ सुविधा दिएसँगै थप आकर्षित भएका हुन् । शाखाले वालिङ नगरपालिकाका विभिन्न बजारसहित दक्षिण स्याङ्जाको चापाकोट नगरपालिका र दक्षिण पर्वतको हातेमालो चोकमा सो सेवा दिँदै आएको शाखाले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







