साङ्केतिक तस्विर
पोखरा । कास्कीमा भदौ दोश्रो हप्ताबाट भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ ।
भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो । आयोगले पहिलो दिन ५० भन्दा बढीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले जानकारी दिए । उनका अनुसार करीब दुई सयको लालपूर्जा दिन तयारी अवस्थामा पुगेको छ ।
लालपूर्जा वितरणको तयारी स्वरुप आयोगले निस्सा वितरण शुरु गरेको छ । आयोगले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा पोखराका विभिन्न वडामा वितरण गरिसकेको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा प्रक्रिया पूरा गरेर निस्सा वितरण शुरु गरिएको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पोखरा–२५ का २४२ जना दलित तथा सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । आयोग कास्कीले भदौ भित्रमा कास्कीका सबै निवेदकलाई निस्सा वितरण गरिसक्ने उनले बताए ।
आयोग कास्कीका अनुसार पोखरा महानगरपालिकामा १९ हजार ६ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन् । महानगरमा निस्सा वितरण शुरु भएपनि जिल्लाका अन्य पालिकाहरुमा भने निस्सा वितरण शुरु भइसकेको छैन । बाँकी पालिकाहरुमा अहिले लगत सङ्कलनका लागि आवेदन दर्ता लिने काम काम भइरहेको छ । आयोग कास्कीका अध्यक्ष पोखरेलले माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा भूमिहीनहरुको लगत सङ्कलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।
भूमि आयोग कास्कीले पोखरा महानगरपालिकामा भूमिहीन सुकुम्बासी ४ हजार १ सय ८३, भूमिहीन दलित ३ हजार ५ सय ५३ तथा अव्यवस्थित बसोबासी ११ हजार ८ सय ९८ जनाको निवेदन परेको जनाएको छ ।
आयोगले यसअघिका पुराना अधुरो, अपुरो रहेका आवेदकको सर्जिमिन, मुचुल्का, फिल्डबुक र सेता पूर्जाका आधारमा लालपूर्जा दिने तयारी गरेको जनाएको छ । आयोग कास्कीका अध्यक्ष पोखरेलले पुराना अधुरो अपूरो अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं–१ र २ वडा तथा पोखराका वडा नं–१४, १७, १९, २७, २८ र ३१ वडामा सर्जिमिन मुचुल्का गर्ने काम सम्पन्न गरेको जानकारी दिए । अधुरो र अपुरो अन्तर्गतका घरधूरीलाई लालपूर्जा दिईने उनले बताए । ‘पूर्जा र फिल्डबुकमा नाम भएकाहरुलाई लालपूर्जा दिन्छौं’–उनले भने ।
आयोग कास्कीले अव्यवस्थित बसोबासी अधिकांशले राजश्व नबुझाउँदा लालपूर्जा वितरणमा ढिलाई भएको जनाएको छ । आयोग कास्कीका अध्यक्ष पोखरेलका अनुसार महानगरमा २ सय २७ अव्यवस्थित बसोबासी भएपनि हालसम्म एक जनाले मात्रै राजश्व बुझाएका छन् । उनका अनुसार अव्यवस्थित बसोबासीले ठाउँ अनुसार दुई सय प्रतिशतसम्म राजश्व बुझाउनुपर्ने हुन्छ ।
भूमिहीन सुकुम्वासी र दलितले भने जग्गाको तिरो मात्र तिरे पुग्ने आयोग कास्कीका सदस्य सचिव एवं जिल्ला नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेले जानकारी दिए ।
आयोग कास्कीले जनशक्ति अभावका कारण सोंचेअनुरुप काम गर्न नसकेको बताएको छ । तर आफ्नो शक्तिले भ्याएसम्म काम गर्ने प्रयास भइरहेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार हाल आयोग कास्कीमा ७ जना मात्रैले काम गर्नुपरेको छ । ११ जनाको दरबन्दी भएपनि ७ जनाले धान्नुपर्ने बाध्यता हुनुका साथै भएकामध्ये ३ जना पूर्णकालीन र बाँकी ४ जनाले दुई वटा कार्यालय धाउनुपर्ने भएकाले काममा बाधा उत्पन्न हुनेगरेको उनले बताए ।
लालपूर्जा वितरणमा दलहरुले भने सकारात्मक सहयोग गरिरहेको अध्यक्ष पोखरेलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







